Sunday, April 8, 2012

प्रवासको पीडालाई संगीतको मलहम लगाउंदै कोरियामा नेपालका राष्ट्रिय गहनाहरु

Beyond the Nepal- News From South Korea

रघु त्रिपाठी, दक्षिण कोरिया - ऊ जहाज चढेर समुन्द्र उडे पनि । खुट्टाले गाउंघर छोडे जस्तो गर्दैन । विरानो ठाऊंको महलमा पनि । आंखाले आफ्नो छानो नाघ्न मान्दैन । ज्यानै मेसिन बनाई छापेको पैसाले जे जे गरे पनि तन किन खुशी हुंदैन । आफ्नै रागमा नगून्गुनाए सम्म मन किन शान्त हुंदैन । माथिका हरफहरु कुनै कविताको साभार नभएर मेरो मनमा अनायास उठेका शब्दभावहरु हुन् । प्रत्यक आइतवार सियोल स्थित एउटा अभ्यास कोठामा जीवनको दोश्रो वा तेश्रो दशकको वसन्त पार गरेका केही नेपाली युवाहरु दिउँसोभरि काम गरेको थकित शरीरको वास्ता नगरी मे ६ मा हुन लागेको लाईभ कन्सर्टका लागि गीत तथा बाद्यवाधनको अभ्यास गर्न ब्यस्त छन् । कोरियामा रहेका यिनै जुझारु प्रतिभावान कलाकारहरुको पङ्तीमा गायक भरत गुरुङ्ग रिदम गितारमा शुवर्ण सापकोटा लिड गितारमा सुमन भण्डारी बेष्ट गितारमा बिक्रम देउजा तेसैगरी ड्रममा सन्जु गुरुङ्ग छन् ।

नेपालको राजनीतिक अस्थिरता र बेरोजगारी चपेटामा परि विवशतावश दक्षिण कोरियाको कठिन श्रम गर्न आएका नेपालीहरु मध्य संगीत क्षेत्रका प्रतिभाशाली ब्यक्तिहरुको पनि कमी देखिंदैन यहाँ । यी प्रतिभाहरु कठिन श्रमिक जीवन यापन गरेर पनि अनुकुलता पाउनासाथ आफ्नो प्रतिभालाई उजागार गर्न प्रयत्नशील देखिन्छन् । यस्तै नमूना प्रतिभाहरुको एउटा समूह हो ­ नेपालको खेलकुद तथा साँस्कृतिलाई बिदेशमा चिनाउन तम्तयार नेपाली भूतपूर्व खेलाडी समुह ।

हुने बिरुवाको चिल्लो पात भनेझैं यस समुहले सुरु देखिनै सकृय र सिर्जनशील भई प्रवासबाटै भए पनि नेपाली संगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने लक्षण देखाएको छ । चाहे नेपाली साँगितिक क्षेत्रका बरिष्ठ गायक राम थापाको जिवन बचाँउन गरेको सहयोग होस । चाहे दिपक विष्ट र संगिना बैध्य जस्ता नेपाली खेलकुद क्षेत्रका रष्ट्रिय धरोहरहरुको मनोवल उच्च पार्न उनिहरुलाई कोरिया बोलाएर गरिएको सम्मान जनक आर्थिक सहयोग होस प्रशंसा योग्य छ । कोरियामा हुने धेरै जसो अन्तरदेशिय खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुमा यो समुहले प्रतिनिधित्व गरेर देशको नाम उच्च राख्न प्रयत्न गरिरहेको छ । खेलकुदको नेतृत्व आठौँ साफका स्वर्ण पदक बिजेता रबी महर्जनले गरेका छन् भने साँस्कृतिक कार्यक्रमको नेतृत्व नेपाली साँगितिक क्षेत्रका उदयमान प्रतिभा भरत गुरुङ्गले गरेका छन् ।

लामो समयदेखी कोरियाको स्टेज प्रोग्रामहरुमा आफ्नो बेजोड प्रस्तुती दिँदै आएका यि प्रतिभावान कलाकारहरुको प्रस्तुतिबाट नेपाली संगीत प्रेमीहरुले धेरै आशा गर्न सक्छन् । यही सकृयताबाट प्रभावित भएर दक्षिण कोरियाका पत्रकार, ब्यवसायी तथा समाजसेवी लगायतका व्यक्तिहरुले यस समुहलाई सक्दो सहयोग गर्ने तत्परता देखाई त्यसको सहयोगी भूमिकामा सकृय छन् । विशेषतः नेपालका खेलाडी, पत्रकार तथा कलाकारहरुलाई सहयोग गर्न खोलिएको यो संगठनले कोरियामा छरिएर रहेका कला, खेलकुद र अन्य क्षेत्रका प्रतिभावान ब्यक्तिहरुलाई गोलबन्द गराइ उनीहरुको प्रतिभाको साधना गर्न पनि सहयोग पुर्याउदै आएको छ ।

आगामी मे ६ तारिक दक्षिण कोरियाको डायस्पोरियामा नेपालमा रहेका राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने उदेश्यले छोगेसामा एक भब्य कार्यक्रमको तयारी हुदै छ । सोही कार्यक्रमका लागि कोरियामा रहेका नेपालका स्थानिय प्रतिभाहरुलाई एक जुट गराउन ब्यवसायी खगेन्द्र गुरुङ्ग, प्रेम गुरुङ्ग सुदूर पश्चिम समाजका पूर्व अध्यक्ष तथा समाज सेवी दिपक रावल, खेलाडी रबी महर्जन, सुक्र तामाङ्ग, दिपक लामा आदिले गरेको मेहनेत र योगदान प्रसंसा योग्य छ । र अन्तमा यिनै मेहेनेतीहरुको कदरकोलागि एउटा श्लोकः मन सरस भए ढुंगाहरुले पनि संगीत बर्साउदो रहेछ । कस्ले भन्छ नेपाली कामदार मात्र हुन भनेर अलिकति जांगर भए हिमाली भाकाले संसार झुलाउन सकिदो रहेछ ।

No comments:

Post a Comment